प्रधानाध्यापकको भनाइ

काठमाडौंको पूर्वोत्तर क्षेत्र का म पा ७ चाबहिलमा अवस्थित यो पशुपति मित्र माध्यमिक विद्यालय शिक्षा क्षेत्रमा एउटा चिरपरिचित नाम हो । आफ्नो स्थापना वर्ष वि सं २००४ भाद्र १३ देखि २०७५ सम्म यसले ७२ वर्षको सेवा अनुभवसहित एउटा अग्रणी शिक्षालयको रुपमा भूमिका खेल्दै आएको छ ।  यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देशका निजामती, सेना, प्रहरी, स्वास्थ सेवा, इन्जिनियरिङ, अध्यापन, प्राध्यापन, परराष्ट्र सेवा, सङ्गीत, अभिनय, राजनीति,व्यवसाय जस्ता क्षेत्रमा आबद्ध भई निर्णय तहमा समेत पुगेका छन् । आफ्ना विद्यार्थीहरुको सफल जीवनलाई विद्यालयले आफ्नो सेवाको प्रतिफल मानेको छ । २०३३ सालमा अनिल तुलाधरले यसै विद्यालयबाट एस एल सी परीक्षामा बोर्ड फर्स्ट गरेको र २०१२ सालदेखि नै एस एल सी परीक्षामा विद्यार्थी सम्मिलित गराएको रेकर्ड विद्यालयमा सुरक्षित छ ।

यो विद्यालयले आफ्ना विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने सवालमा हमेसा ध्यान पुर्याएको र त्यतैतर्फ आफ्नो सम्पूर्ण ऊर्जा लगाएको छ । यस विद्यालयले विभिन्न कालखण्डमा योग्यतम शिक्षकहरु पाएको छ । यस विद्यालयमा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक एवम् स्वास्थ जनसङ्ख्या तथा वातावरण विभाग प्रमुखहरु आ-आफ्ना विषयमा कसरी विद्यार्थीको सिकाइलाई दिगो र गणस्तरीय बनाउन सकिन्छ भन्ने चिन्तनमा लागिरहनु हुन्छ । हामीकहाँ शिक्षकहरु योग्य, अनुभवी, तालिम प्राप्त, तालिम प्रशिक्षक, पाठ्यपुस्तका लेखक तथा अनुवादक हुनुहुन्छ भनेर सुनाउन पाउँदा औधी खुशी लाग्छ । हामीले पठनपाठनलई स्तरीय र प्रतिस्पर्धी बनाउने क्रममा नेपाली र अङ्ग्रेजी माध्यम अपनाएका छौं । पठनपाठनलाई प्रविधिसँग जोडेर मल्टिमिडिया प्रोजेक्टरबाट पढाइने गरिएको छ ।

विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गर्न गायन, नृत्य, चित्रकला, वादविवाद, निबन्धलेखन, कविता वाचन, समाचारवाचन, प्रहसन, विज्ञान प्रदर्शनी जस्ता कृयाकलाप निरन्तर रुपमा गरिँदै आएको छ । कक्षा ६ देखि ११ र क्रमिक रुपमा १२ कक्षासम्मका विद्यार्थीहरुलाई अङ्ग्रेजी, गणित र विज्ञानका अतिरिक्त कक्षाहरु हुने गरेका छन्  । समय समयमा विद्यार्थी-अभिभावक एवम् शिक्षक भेला र अन्तरक्रिया हुने र त्यहाँ पठनपाठनलाई स्तरीय बनाउने बहस हुने गरेको छ ।

आफ्ना नानीबाबुहरुलाई महङ्गो शुल्क तिरेर किन अन्यत्र पठाउने ? यही विद्यालयमा गुणस्तरीय पठनपाठन हुन्छ  । हामीकहाँ रमाइलो वातावरणमा विद्यार्थीहरुले पढाइका साथसाथै जीवनोपयोगी व्यवहार पनि सिक्ने अवसर पाउँछन्  । साना नानीबाबुहरुका लागि टिभी, प्रोजेक्टर अनि रेकर्डरबाट गीत बजाएर नचाउँदै खेलविधिबाट सहज तरिकाले लेख्न पढ्न सिकाइन्छ । आफ्ना नानीबाबुहरु हामीकहाँ ल्याउनुहोस् । हामी तपाईंलाई सही विद्यालय छनोट गरिएछ भन्ने अनुभूति दिलाउने छौं ।

 

 

प्रधानाध्यापक

घनश्यामराज काफले

पशुपति मित्र माध्यमिक विद्यालय